यी नेपाली महिला, जसको पाठेघरबाट बेल्ना निकालियो
२५ पुस, काठमाडौं । भारतको उत्तराखण्डस्थित एक सरकारी अस्पतालमा भर्ना भएकी नेपाली महिलाको गुप्ताङमा काठको बेल्ना फेला परेको छ । डाक्टरलाई समेत आश्चार्यचकित बनाउने यो घटनाका सर्जक अर्थात उनको शरीरमा बेल्ना घुसार्ने अरु कोही नभएर ती महिलाका आफ्नै पछि हुन्, जो अस्पतालमै बिरामी कुरुवाका रुपमा बसेका छन् ।
महिला हिंसाको चरम रुपमा देखा परेको घटनाबारे यतिबेला बेलायत लगायत विश्वका अधिकांश सञ्चारमाध्यमले समाचार बनाएका छन् । तर, नेपालबाट उपचारका लागि भारत पुगेको यो जोडी नेपालको कुन जिल्लाबासी हो भन्नेसम्म समाचारमा खुलाइएको छैन ।
उनीहरु भारतमै रहेका नेपाली मुलका दम्पति हुन् या नेपालको कुनै जिल्लाबाट गएका हुन् भन्ने स्पष्ट हुन सकेको छैन । अन्तरराष्ट्रिय सञ्चारमाध्यमले नेपालबाट उपचारका लागि भारत पुगेको दाबी गरेका छन् ।
सन्तान नजन्माएको भन्दै यातना
सबैलाई थाहा छ, पुरुषको वीर्यदानविना कुनै पनि महिलाले आफ्नो एकल प्रयासमा मात्रै बच्चा पाउन सक्दिनन् । तर, ३८ बर्षीया एक महिलाले बच्चा नपाएकै कारण आफ्ना श्रीमानबाट क्रुर आक्रमणको शिकार हुनुपरेको छ । अन्धविश्वास र महिलाहिंसाको यो चरम नमूना अन्त कतैको नभएर नेपालकै हो ।
यो दर्दनाक कथा हो एक नेपाली जोडी भएता पनि भारतको उत्तराखण्डस्थित सुशीला तिवारी सरकारी शिक्षण अस्पतालमा पुगेपछिमात्रै बाहिर आयो । र, यो विश्वभर समाचारको विषय बन्यो ।
सामान्यतः यो स्थितिमा महिलाको मृत्यु हुने भए पनि यी महिला बहादुर रहेको र मृत्युको मुखबाट बाँच्न सफल भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।
