नारायणगढलगायत देशभरका हलमा अहिले हिन्दी फिल्म दंगलको खास चर्चा छ । यसो फुर्सद पाइयो र विद्युत्ले साथ दियो भने धेरैको रिमोट हिन्दी च्यानलमा पर्छन् । हामीले चढ्ने मोटरसाइकल र गाडी पनि सबैजसो भारतमा निर्माण गरिएका हुन् । जे होस् मनोरञ्जनका साधनहरु भारतबाटै आयात हुन्छ् । फिल्म हेर्दा होस्, गाडी चढ्दा होस् वार्षिक खर्बौं रुपैयाँ भारत पुगेको हुन्छ ।
तर, अहिले हाम्रो दरिद्र मानसिकता कहिँकतै यसरी अल्मलियो कि हामी अब स्वाभिमान भइसकेका छौँ । कुनै पनि वस्तुका लागि भारतसँग परनिर्भर हुने समय गयो । नुनदेखि सुनसम्मका लागि भारतको बाटो हेर्ने हामी नेपाली (अहिलेको सन्दर्भमा चितवनबासी) यतिखेर पक्का राष्ट्रवादी भएका छौँ । भलै हामी आत्मनिर्भर छैनौँ, तर आवश्यकताको महसुस गरिकन पनि हामीले त्यागको भावना देखाएका छौँ ।
११ औँ संस्करणको चितवन महोत्सव पौष २५ गतेबाट सुरु हुँदैछ । यसअघिका महोत्सवभन्दा यसपटकको फरक हुने निश्चित छ । किनकि यसपटक महोत्सवमा बालउद्यान रहने छैन । बाल उद्यानबिनाको चितवन महोत्सव केहीका लागि मनदेखि नराम्रो र मुखले मात्र राम्रो भो भन्ने भए पनि अधिकांशले मुख र मन दुवै भावले बाल उद्यान नहुनु ठीक नभएको टिप्पणी गरेका छन् ।
बाल उद्यान नहुने भन्ने सवालमा प्रायःको एउटै र तयारी जवाफ छ, ‘पैसा जति सबै भारतीयले लगे ।’ बहस गर्न योग्य विषय के छ भने बालउद्यान राख्नका लागि हामी नेपाली सक्षम छैनौँ । जुन वस्तु हामीसँग छैन र अपरिहार्य छ भने त्यतिखेर किन फुस्रो राष्ट्रवाद देखाउने ?
तर हामीहरुलाई थाहा छैन कि महोत्सवभित्र रहेका गाडी, मेसिनरी सामान, खाद्यवस्तु, कपडालगायतका वस्तु किनबेच हुँदा पैसा कुनै न कुनै बाटो भएर भारत जान्छ । चितवन महोत्सव कति सफल हुने नहुने भन्ने सवालमा बालउद्यानको पनि मुख्य हिस्सा रहन्छ । अपेक्षित कारोबार र दर्शकको संख्यालाई सफलताको आधार मान्ने गरिएको छ । यसपटक दर्शक र कारोबार अपेक्षा गरिएअनुसार होल नहोला त्यसका लागि भने माघ ५ गतेसम्म कुर्नुपर्ने हुन्छ ।
बाल उद्यानबिनाको चितवन महोत्सवको धेरैले परिकल्पना गरेका छन् । खल्लो हुन्छ भन्ने आयोजकको पनि वुझाइ छ, तर भन्न मिलेको छैन । किन उद्योग वाणिज्य संघ चितवनको कार्यसमितिभित्रकै विवाद र स्वार्थ नमिल्दा बालउद्यान हटेको हो । न कि बालउद्यान हटाइनुपर्छ भने यसअघि नारायणगढमा जुलुस निस्केको थिएन, सिडिओलाई ज्ञापनपत्र दिइएको थिएन अर्थात कुनै पनि तबरबाट राज्य र गैरराज्य निकायको ध्यानाकर्षण भएको थिएन ।
भारतीय नागरिकले यसअघि पनि चितवन महोत्सवमा बालउद्यान सञ्चालनमा ल्याएका हुन् । छातीमा हात राखेर भन्नुपर्छ, महोत्सव छिर्ने अधिकांश बालबालिका खेल्नमा रमाउँछन् । रमाउने क्षेत्र साँस्कृतिक, स्टल अवलोकन, डुंगा सयरआदि भए पनि बालबालिकाको लागि आकर्षण र मनोरञ्जनको मूल विषय भनेको बालउद्यान नै हो । उनीहरुलाई रमाउन, खेल्न पाए पुग्यो । महोत्सव डुलेपछि साँझपख बालबालिकाले दिनभरको रमाइलो सुनाउलान्भन्दा बरु खेल खेल्न नपाएको रिसले खाना पनि नखाई बेलैमा सुतेर बालउद्यान नराख्नुको असुविधाको सांकेतिक विरोध गर्नेछन् ।
साभार : चितवन पोष्ट दैनिक 
 
Top