पूर्वी चितवन पुगेर प्रचण्डले भने,”प्याकेज कार्यक्रम सार्वजानिक गर्दैछु !!”
रत्ननगर,२६ पुस।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको समग्र विकास हुने गरी तयार पारिएको प्याकेजको कार्यक्रमसहितको योजना छिट्टै सार्वजनिक गरिने बताएका छन् ।
राप्ती नगरपालिका वडा नम्बर ९ मा रहेको वीरेन्द्र आदर्श माध्यमिक विद्यालयमा निर्माण गरिएको शहीद स्मृति वाटिकाको सोमबार अनावरण गर्दै प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले यस्तो बताएका हुन् । “समग्र चितवनलाई नै प्रभावित पार्ने गरी योजना बनाएको छु”, प्रधानमन्त्री प्रचण्डले भने, “तपाईंहरु ढुक्क हुनुस्, त्यो योजना केही समयमै सार्वजनिक गर्नेछु ।” उनले यसअघि चितवन आएका बेला अब चितवन आउँदा विकास योजना सार्वजनिक गर्ने बताएका थिए ।
“अहिले पनि म विकासबारे जानकारी लिन चितवन आएको हुँ”, प्रधानमन्त्री प्रचण्डले थपे, “मैले ल्याउन लागेको योजनाले चितवनको सबै ठाउँको विकास हुनेछ ।” चितवन जिल्ला राजनीतिक हिसाबले मात्रै नभई विकासको हिसाबले पनि अग्रणी जिल्लाको रुपमा रहेकाले त्यसैअनुसार कार्यक्रम ल्याउने उनले उल्लेख गरे ।
“म चितवनबासी नै हुँ मलाई चितवनको माया छ”, प्रधानमन्त्री प्रचण्डले भने, “विकासमा अग्रणी भूमिका खेल्ने यस जिल्लालाई प्राथमिकता राखेर तयार पारिएको योजना छिट्टै सार्वजनिक गर्छु ।” करिब १० मिनेट सम्बोधन गरेका प्रधानमन्त्री प्रचण्डले वीरेन्द्र आदर्श माविको भवन निर्माण तथा व्यवस्थापनमा शिक्षा मन्त्रालयसँग समन्वय गरेर सहयोग गर्नुका साथै ढुंगा गिटी निकासबारे पनि समाधान निकाल्ने बताए । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले राजनीतिक समस्या अब समाधानको बाटोमा रहेकाले विकासको गतिले तीव्रता पाउने आश्वासन दिए ।
साभार : खबर चितवन
