भरतपुर । भरतपुर–६ स्थित यज्ञपुरी शीतलचोकका स्थानीय गैँडा आतङ्कबाट त्रसित बनेका छन् । हरेक रात बच्चासहितको माउ गैँडाले स्थानीयको खेतीबाली नष्ट गरेको स्थानीयले बताएका छन् । स्थानीयले लगाएका गहुँ, तोरी, मुला, काउली, बन्दा, सिमी, राजमालगायतका खेतीबालीमा क्षति पु¥याएको स्थानीय लक्ष्मीनारायणी कँडेलले बताइन् । ‘गैँडाका कारण यहाँका स्थानीयले हरेक वर्ष क्षति व्यहोर्नुपरेको छ,’ उनले भनिन् ।


?
हुर्केको बाली खाएर नष्ट पार्ने र मुसुरो, मुला, राजमालगायतका तरकारी बाली कुल्चिएर नष्ट पार्ने गरेको उनले बताइन् । हरेक रात गैँडा बस्तीमा पसेर दुःख दिने गरेको उनको भनाइ छ । ‘रातभर बारीमा गैँडा चरेर उज्यालो भएपछि मात्रै जंगलतर्फ जान्छ,’ उनले भनिन् ।
पहिलेपहिले खेतीबाली लगाउँदै आएका बारी गैँडाले सताउन थालेपछि बाँझै छन् । घर वरिपरि जग्गा भएकाहरुले लगाएको बाली पनि गैँडाले नष्ट पारेपछि यहाँका स्थानीय आजित बनेका छन् । विगत लामो समयदेखि हिउँदको समयमा बढी दुःख दिने गरेको स्थानीय बालानन्द शर्माले बताए । ‘घरकै करेसाबारीमा लगाएको तरकारी पनि खान पाइँदैन,’ उनले भने, ‘राति काम परेर बाहिर निस्कन परे पनि डर भयो ।’
यस आसपासमा पोल्ट्री फर्मसमेत रहेकोले फर्ममा काम गर्नेहरुलाई बिहानै आफ्नो काममा जानसमेत समस्या परेको छ । न्यू नेपाल पोल्ट्री फर्मका कर्मचारी विकास गुरुङले भने, ‘बिहान पाँच बजे नै फर्ममा जानुपर्छ, त्यति बेलासम्म गैँडा पिच बाटोमै हिँडिरहेको हुन्छ । काम गर्न पनि डर भयो ।’ गैँडाको बस्ती पस्ने क्रम नरोकिए यसले मानवीय क्षतिसमेत पु¥याउन सक्ने उनले बताए ।
बर्सेनि दुःख दिन थालेपछि बारीमै विभिन्न पुत्ला बनाइए पनि गैँडाले दुःख दिनेक्रम नरोकिएको सोही स्थानका स्थानीय बुद्धिराम कँडेलले बताए । भरतपुर उपमहानगरपालिकाको वडा नं. ५, ६, १३ र १४ मा हरेक वर्ष गैँडाले सताउने गरेको उनले बताए ।


?
‘पहिले–पहिले तरकारी फल्ने बारी गैँडाले खाने र कुल्चिने गरेर दुःख दिएपछि अहिले सबै बारी बाँझै छन्,’ उनले भने, ‘लगाएको खेती गैँडाले क्षति पु¥याएपछि बर्सेनि घाटामा जाँदा किसानहरुले यस क्षेत्रमा उत्पादन गर्नै छाडे ।’
स्थानीय डिलादेवी पौडेलका अनुसार जंगलमा खाने आहाराको अभाव भएपछि आहाराको खोजीमा गैँडा बस्ती पसेको हो । सबै मिलेर जंगल संरक्षणमा लागे यो समस्या समाधान हुने उनको बुझाइ छ । यसको लागि जिल्लाका सरोकारवाला निकायले जंगली जनावरबाट प्रभावित क्षेत्रहरुमा अनुगमन गरी आवश्यक सुरक्षाबारे पहलकदमी थाल्नुपर्ने उनले बताइन् ।
पछिल्लो समय अव्यवस्थित रुपमा मानव बस्तीको विकास हुनु र जलवायु परिवर्तनका कारण जंगलमा घाँसपातको कमी भएकोले जंगली जनावरले दुःख दिन थालेको अर्का स्थानीय युवा प्रेम कँडेल बताउँछन् । ‘गैँडा आतङ्कबाट अति नै भएपछि अघिल्लो वर्ष पनि हामी जिल्ला वन कार्यालय र जिल्ला प्रशासनमा डेलिगेसन गयौँ । तर, सुनुवाई भएन,’ उनले भने, ‘यसपटक पनि प्रमुख जिल्ला अधिकारीसमक्ष जानकारी गराएका छौँ । तर, काम भने हुन सकेको छैन ।’
चितवनमा जंगली जनावरको आतङ्क अझै रोकिएको छैन । केही दिनअघि मात्रै सोही स्थानमा एक महिनाअगाडि गैँडाको आक्रमणबाट भरतपुर–६ सृष्टिचोकका ८४ वर्षीय गौरीश्वर सापकोटाको मृत्यु भएको थियो ।

साभार : चितवन पोष्ट दैनिक 
 
Top