उद्योग वाणिज्य संघ–चितवनले चितवन महोत्सवबाट रत्ननगर उद्योग वाणिज्य संघ र रत्ननगर नगरपालिकालाई आयोजकबाट हटाइएपछि सम्बन्ध चिसिएको छ । अघिल्लो संस्करणसम्म रत्ननगर नगरपालिका र रत्ननगर उद्योग वाणिज्य संघ पनि आयोजक नै थिए । तर, एक्कासी यस्तो निर्णय आएपछि यी संस्थाबीचको दूरी बढेको छ ।
उद्योग वाणिज्य संघ–चितवन, जिल्ला विकास समिति, भरतपुर उपमहानगरपालिका, रत्ननगर नगरपालिका र रत्ननगर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा चितवन महोत्सव हँुदै आएको थियो । अब उद्योग वाणिज्य संघ–चितवन, जिल्ला विकास समिति र भरतपुर उपमहानगरपालिका मात्रै आयोजक छन् ।
आयोजकबाट हटाइएपनि संघ र नगरपालिका दुवैलाई स्टेयरिङ कमिटीमा भने राखिएको छ । तर, स्टेयरिङ कमिटीको बैठकमा दुवै संस्थाले सहभागिता जनाएका छैनन् । बैठकमा सहभागिता नजनाउने कार्यसमितिको बैठकले नै निर्णय गरेको संघका अध्यक्ष ज्ञानबहादुर बिसुरालले बताए । वि.सं. २०५५ सालदेखि रत्ननगर उद्योग वाणिज्य संघ आयोजक रहँदै सहभागिता जनाएको थियो । “लामो समयदेखि हामी आयोजक थियौं”, तर, यसपटक महोत्सवबाट हटाइएको भनिएको छ तर कुनै पत्र आएको छैन” संघका अध्यक्ष बिसुरालले भने, “आयोजक नै नभनी बोलाइएको बैठकमा कसरी जानु ?”
सुरुआतमा रत्ननगर उद्योग वाणिज्य संघले चितवन महोत्सव सञ्चालनको लागि केही रकम बिउ पुँजीको रुपमा राखेर महोत्सवमा सहभागिता जनाएको थियो । सुरुमा महोत्सवका लागि लाग्ने कूल खर्चको ५ प्रतिशत रकम बिउ पुँजीका रुपमा रत्ननगर उद्योग वाणिज्य संघले राखेको थियो । बिउ पुँजी महोत्सव फाइदाको हिसाबमा बढ्दै जान्छ । रत्ननगर उद्योग वाणिज्य संघ ठूलै महोत्सव गर्न सक्षम संस्थाका रुपमा स्थापित भइसकेको छ । संघ र रत्ननगर नगरपालिकाको संयुक्त आयोजनामा दुई–दुई वर्षमा रत्ननगर महोत्सव हुँदै आएको पनि छ । उद्योग वाणिज्य संघलाई रत्ननगर महोत्सवमा प्रवद्र्धकको रुपमा राखिदै आएको छ ।
चितवन महोत्सव र रत्ननगर महोत्सव प्रत्येक एक–एक वर्षको फरकमा हुँदै आएको छ । तर, उद्योग वाणिज्य संघले गरेको निर्णयले रत्ननगर उद्योग वाणिज्य संघ आगामी वर्षदेखि प्रत्येक वर्ष महोत्सव गर्न बाध्य हुने संघका एक पदाधिकारीले बताए । “जानकारीनै नदिई आयोजकबाट हटाउनु उद्योग वाणिज्य संघ– चितवनका लागि दुर्भाग्य हो”, उनले भने, “हामी पनि ठूला महोत्सव गर्न सक्षम छौं, यो निर्णयले आगामी वर्षदेखि प्रत्येक वर्ष रत्ननगर महोत्सव गर्नु पर्ने धेरैको सुझाव आएको छ ।” चितवन महोत्सवबाट हट्ने विषयमा कुनै सहमति नभएको र एक्कासी हटाइएको रत्ननगर उद्योग वाणिज्य संघको दावी छ । तर, उद्योग वाणिज्य संघ चितवनले भने रत्ननगर उद्योग वाणिज्य संघकै सहमतीमा आयोजकबाट हटाइएको बताएको छ l
 
Top