ललितपुरको कुमारीपाटीमा बिहीबार ड्युटीमा खटिएका ट्राफिकलाई हातपात गर्ने महिला तथा गाडीचालकलाई प्रहरीले त्यत्तिकै छाडेको छ।
‘नो पार्किङ’ मा गाडी रोकेका चालक प्रकाश राईले कागजपत्र र लाइसेन्ससमेत देखाउन नसकेपछि प्रहरी जवान कमलप्रसाद घिमिरेले कारबाही गर्न खोजेका थिए। त्यही बेला गाडीमा बसेकी शोभा कार्कीले ट्राफिक घिमिरेमाथि हातपात गरेकी थिइन्।
प्रहरीले दुवैलाई पक्राउ गरेको थियो। कांग्रेस नेता जगदिशनरसिंह केसी यिनलाई छुटाउन आफैं प्रहरी कार्यालय पुगेको स्रोतले बतायो। स्रोतका अनुसार बिहीबार साँझ केसी आफैं आएर ललितपुर प्रहरी प्रमुख ठूले राईलाई भेटी दुवैलाई छाड्न भनेका थिए। प्रहरीले कार्कीलाई राति नै छाडेको थियो भने राईलाई शुक्रबार बिहान छाडेको हो।
कांग्रेस नेता केसीले चालक राई आफ्नो कार्यकर्ता भएको र उनले प्रहरीमाथि हातपात नगरेकाले छुटाउन आग्रह गरेको स्वीकार गरे।
‘नो पार्किङमा पार्किङ गरे पाँच सय, हजार जरिवाना गर्ने हो,’ केसीले सेतोपाटीसँग भने, ‘मुद्दा नै चलाउन त भएन नि?’ कार्कीका हकमा भने आफूले केही नभनेको र उनी बिरामी भएकाले प्रहरी आफैंले मानवीय नाताले छाडेको केसीले बताए।
ललितपुर प्रहरीले पनि कार्की मानसिक बिरामी रहेको र औषधि सेवन गरिरहेको पाइएपछि कुटाइ खाने ट्राफिककै मञ्जुरीमा छाडेको दाबी गरेको छ।

ललितपुर प्रहरी प्रवक्ता डिएसपी ईश्वर कार्कीले कुट्ने र कुटाइ खाने दुवैको सहमतिमा तारेखमा छाडिएको बताए।
प्रहरीले बिहीबार साँझ नै उनीहरूलाई पाटन अस्पताल लगेर स्वास्थ्य परीक्षण गराएको थियो। पाटन अस्पतालले दिएको स्वास्थ्य परीक्षण रिपोर्ट प्रहरीले सार्वजनिक गरेको छैन।
 
Top