भरतपुर,९ बैशाख ।
मालपोत कार्यालय चितवनमा घूस लिने धन्दा रोकिएको छैन । सेवाग्राहीलाई अनेक प्रलोभन पारेर उनीहरुबाट अवैध रकम असुली काम गर्ने गरिएको पाइएको छ ।
विचौलियाको सहायता लिएर कर्मचारी नै घूसको धन्दामा लाग्ने गरेका छन् । शुक्रबार मालपोत कार्यालयका दुई कर्मचारी र एक जना लेखापढी व्यवसायी (लेखनदास) घूस लिएको आरोपमा पक्राउ परेका छन् । चण्डीभञ्ज्याङका विर्खलाल गुरुङ स्वर्गीय बुबा इन्द्रबहादुरको नाममा रहेको लालपुर्जा आमा धनमाया गुरुङको नाममा सार्न मालपोत कार्यालय भरतपुर आइपुगेका थिए ।
बिहीबार लेखनदासको सहयोगमा आवश्यक कागजात तयार गरि फाइल बुझाएका थिए । हजुरबुबाको नाम कागजपत्रमा मणिराज गुरुङ हुनुपर्नेमा ‘मनिराज’ भएपछि उनीहरु जालमा परे । “मुद्धा फाँटमा फाइल पुग्दा बाजेको नाम मिलेन भनियो”, धनमायाका छोरा विर्खलाल गुरुङले भने, “पैसा भए बन्छ भनेर लेखनदासले सम्झाए ।” उनले सुरुमा पैसा कुनै हालतमा नदिने अडान लिए । “१० हजार रुपैयाँ भए सबै मिल्छ भने”, उनले भने, “सास्ती खेप्नुपर्ने ठानियो, आमाको आग्रहमा ६ हजार दिएँ ।”
घूस दिएपछि फाइल अघि बढेको उनले बताए । “कम्युटरमा फेरि टिपोट गर्दा ५ सय रुपैयाँ मागियो”, उनले भने, “यहाँ यस्तै धन्दा चल्दो रै’छ जस्तो लाग्यो, त्यहाँ पनि बुझाएँ ।” पुर्जा बनिसके पनि फेरि कर्मचारीले आइतबार बोलाएपछि साह्रै रिस उठेको बताए । पैसा दिएर काम छिटो गराइदिने काममा लेखनदास फणिन्द्रराज तिवारी लागिपरेको आरोप छ । कम्प्युटर शाखामा पैसा दिदै गरेको दृश्य उपभोक्ता अधिकार संरक्षण मञ्चका वरिष्ठ उपाध्यक्ष विष्णु भुषालले देखेका थिए ।
“पैसा दिएर पनि काम गरेनन् भन्दै सेवाग्राही बोल्दै थिए”, भुषालले भने, “यो घटना सबै शुक्रबार प्रमुख जिल्ला अधिकारीलाई सुनाएँ, उहाँले यस्ता धन्दा तुरुन्त रोक्नुपर्छ भन्दै सादा पोसाकको प्रहरी परिचालन गर्ने, अनुगमन गर्ने आश्वासन दिनुभयो ।” प्रशासन कार्यालय चितवनका बजार अनुगमन अधिकृत ओमनारायण शर्मासहितको टोली त्यहा पुग्यो । सेवाग्राहीमा व्यापक असन्तुष्टि रहेको थियो ।
बजार अनुमगन टोली, अधिकार संरक्षणकर्मी, सादा पोसाकको प्रहरीले सेवाग्राहीका आधारमा घूस खाएका कर्मचारीलाई सोधपुछ ग¥यो । उनीहरुले सो घटना स्वीकार गरे । मालपोत कार्यालयमा दुई वर्षदेखि कार्यरत नायब सुबबा मनोज निरौला, कम्युटर टेक्निसियन प्रदीप शर्मा पौडेल, लेखनदास फणिन्द्रराज तिवारीलाई प्रहरीले शुक्रबार थप अनुसन्धानका लागि हिरासतमा राखेको छ । सोही कार्यलयमा विगतमा पनि विचौलिया पक्राउ परेका थिए । नक्कली जग्गाधनी बनेर जग्गा बिक्री गरी ठगी गर्नेमध्ये केहीसमेत पक्राउ परेका थिए ।
मानवीय त्रुटी होः मालपोत प्रमुख
मालपोत कार्यालय चितवनका प्रमुख दिवाकर पौडेलले सो घटनामा मानवीय त्रुटि भएको बताएका छन् । “कामको क्रममा आरोप लागेर भनसुनका आधारमा सोधपुछ गर्दा कर्मचारी पक्राउ परेका रहेछन्”, प्रहरीले कर्मचारीलाई हिरासतमा लिएको झण्डै दुई घण्टापछिको कुराकानीमा उनले भने, “यो मानवीय त्रुटि हो ।”
उनले कार्यालयमा घूस नलिएको जिकिर गरे । “गुनासो आउनेबित्तिकै म स्वयं फाँटमै पुगेर पनि हेर्ने गरेको छु”, उनले भने, “घूस कसैले मागे सोझै मसँग आएर गुनासो गरे हुन्थ्यो, त्यस्ता कर्मचारीलाई म कारबाही गर्छु ।” सो कार्यालयबाट हाल दैनिक १ सयको हाराहारीमा लिखत पास हुने गरेका छन् । माडी, चनौली र पूर्वी चितवनमा मालपोत कार्यालय सञ्चालनमा आएपछि झण्डै ६० प्रतिशत सेवाग्रही कम भएको उनको भनाइ छ । बेलाबखत घूस काण्डमा फसेको सो कार्यालयमा निगरानीका लागि हालसम्म सीसी क्यामेरा राखिएको छैन ।
घूस धन्दा रोकिन्छः प्रजिअ
प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नारायणप्रसाद भट्टले हरेक सरकारी कार्यालयमा हुन सक्ने ठगी धन्दा नियन्त्रणका लागि सिविल प्रहरी परिचालन गरिएको बताए । “बजार अनुगमनका लागि विषयगत टोलीनै बनाएका छौँ, यी सबै स्वचालित हुनेछन्”, उनले भने, “मालपोत कार्यालय अब बढी चनाखो भएर हेर्छौँ, गोप्य सूचनालाई फलोअप गर्नेछौँ ।” उनले सरकारी सेवामा कार्यरत कुनैपनि कर्मचारीले घुस मागेमा प्रहरी, कार्यालय प्रमुख वा स्थानीय प्रशासनमा तुरुन्त खबर गर्न आग्रह गरे । “काम छिटो गराउने बहानामा घुस कसैले नदिउँ”, उनले भने, “जनताबाट घुस लिने कर्मचारीलाई हामी कारबाही गर्छौँ ।
