भरतपुर,११ जेठ
स्थानीय तह निर्वाचन–२०७४ को नतिजा आउने क्रम जारी छ । चितवनमा भरतपुरको पूरै मत गनिसकेको छैन । तर, अरु ६ तहमा मतगणना सकेर नतिजा आई निर्वाचितले कामसमेत सुरु गर्न लागिसके । तर, अनौठो के भने पूर्वी चितवनका ४ स्थानीय तह (चार नगरपालिका)मा सत्ता नेतृत्वकर्ता माओवादीको एकजना प्रतिनिधि पनि चुनिएका छैनन् ।
पूर्वी चितवनका रत्ननगर, राप्ती, कालिका र खैरहनी चारै नगरपालिकामा माओवादी केन्द्रले मेयर वा उपमेयर त परको कुरा कुनैपनि पदमा जित हात पार्न सकेन । यी क्षेत्रबाट रत्ननगरमा ८२, राप्तीमा ६७, कालिकामा ५७ र खैरहनीमा ६७ गरी २ सय ७३ जना निर्वाचित भएकामध्ये एमालेका बढी छन् । त्यसपछि कांग्रेसका छन् । तर, माओवादी शून्य छ ।
यी चारै नगरपापालिकामा माओवादी केन्द्रका उम्मेद्वारहरु मतका आधारमा तेस्रो स्थानमा सीमित छन् भने केहीमा त्योभन्दा पनि तल छन् । २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा चितवनको २ नम्बर निर्वाचन क्षेत्र (हालको रत्ननगर र कालिका नगरपालिका)मा तत्कालीन नेकपा माओवादीका रामबहादुर थापा ‘बादल’ ले अत्यधिक मतका साथ जित हात पारेका थिए । तर, यसपालिको निर्वाचनमा भने माओवादी केन्द्रले जनताको विश्वास जित्न नसकेको निर्वाचन मतपरिणामले देखाएको छ ।
