भर्खर चिसो स्याँठले हानेर कुट्कुट काँप्दै गरेको जिउ एक्कासी सामान्य भएर आयो। न जाडो अनुभव भएको छ न गर्मी। भर्खरसम्म बाइक गुडाँऊँदै गरेको मान्छे मलाई अहिलेको अहिल्यै उडिरहेको अनुभव भएर आयो। म कता जांदै थिएँ रे? खै स्मरण शक्ति नै गुमाएको जस्तो भएको छु म। आखिर किन यस्तो अजिब फिल भईरहेको छ? पक्कै केही त गडबड छ। वरीपरी मान्छेको भिड जम्मा भएको छ। के को भिड हो कुन्नी, गएर हेर्न पर्यो। ‘छ्या कस्तो बिभत्स दुर्घटना’ भिड बाट बाहिर निस्कंदै गरेको एकजना बोलेको सुनें। अर्को एउटा केटा फोनमा बोल्दै थियो, ‘चोकमा डेन्जर एक्सिडेन्ट भछन्त ब्रो, अन द स्पट डेथ भाछ, आइज अब बबाल गर्नुपर्छ’। म भिडमा घुस्दै गएँ। त्यत्रो भिडमा पनि कसैलाई नछोइ, नधकेली छिरिरहेको अनुभव हुँदै थियो। सबैजना स्तब्ध भएर मुन्टो घुमाउदै फर्किँदै थिए। हेर्नपर्यो भनेर मैले नजर डुलाएँ। उफ, कस्तो दर्दनाक दृश्य। रगतले लतपतिएको शब, शब नजिकै औषधी को झोला, छेउमै दुर्घटनाग्रस्त मोटरसाइकल, रोकिइराखेको बस अनि मान्छेको भिड। मान्छेको जुनी पनि के नै छ र, पाँच मिनट अघिसम्म अनेक जिम्मेबारी बोकेको टाउको, अनेक चाहनाले भरिएको शरीर, अनेकौं सपना देखेका आँखा, कुनै गन्तव्यमा पुग्न हिँडेको शरीर पाँचै मिनटको अन्तरालमै निस्क्रिय अनि निर्जिव बनेर सडकमा मिल्केको छ। म केही भावुक बन्न पुगें । त्यत्तिकैमा प्रहरी घटनास्थलमा आइपुगे।
कोही प्रतक्ष्यदर्शीको बयान लिन थाले, कोही घटनास्थलको मुचुल्का उठाउन थाले। एउटा प्रहरी शव छेउ गयो, लुगा छामेर केही निकाल्यो। मोबाइल रहेछ। सेम मेरो जस्तै रहेछ। रगतले लतपतिएको निलो स्वेटर देख्दा मैले २ महिना अघी किनेको स्वेटरको याद आयो, जुत्ता नि मेरै जस्तै रहेछन। त्यतिकैमा एउटा प्रहरी वाएरलेसमा कुरा गरिरहेको सुनें, रोजर सर, ग७प १९५६ नम्बरको मोटरसाइकललाई ना२ख ५१८१ नम्बरको बसले ठक्कर
दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु’ म झस्कें, बाइकको नम्बर कति भन्यो? १९५६? मेरो बाइक? फक्…. । बाइक नजिक गएँ, नभन्दै मेरै बाइक पो। यसो कोल्टेर शवतिर हेरेको त म चकित भएँ। आँइ, मरेको त मै पो रहेछु। म तीन छक खाएँ, केही मेसो पाइन। अनि बेजोडले चिच्याएँ, तर अचम्म, आवाज नै निस्केन। रोएँ, तर न आँशु झर्यो न रोदन गुन्जियो। के भएको थियो, सम्झिने कोशीश गरें। बुवाले हिजै औषधी सकिएको छ भन्नुभएको थियो, हिजै ल्याउनुपर्ने, तर महोत्सव तिर गइयो, दिनभरी उतै भुलियो। घर फर्कनासाथ गाली खाइयो। त्यसैले सखारै उठेर औषधी लिन हिंडेँ।
पुषको जाडो, पोखराका सडक, अझ बिहान लाग्ने तुवाँलो,अनि मेरो बाइक चलाई। ह्वाट अ डेड्ली कम्बिनेसन।
तवाँलो यती बाक्लो लाग्छभनेदेखी यहीँको त्यहीँ पनि देखिँदैन। त्यस माथि चिसोले हात ठिर्याएर हातै छ कि छैन जस्तो फिल हुन्छ। र पनि बिस्तारै चलाऊन मन लाग्ने हैन आफुलाई। हुर्रीएर गएँ, औषधी लिएँ,
हुर्रीएरै फर्किंदै थिएँ। कुहिरो उस्तै बाक्लो थियो। के के कुरा सोच्दै बाइक चलाऊँदै थिएँ, अगाडि त अजंगको ट्र्याक्टरको ट्रेलर ठडियो। हत्तपत्त दुबै ब्रेक लगाएँ, ट्रिपरमा त ठोकिएन, तर बाइक लिर्रर लित्रिंदै बाँया साइडमा पुग्यो। बिपरित दिशाबाट एउटा बस आऊँदै रहेछ, मैले ट्रेलर नदेखे झैँ बस ड्राइभरले मलाई देखेन होला। ‘प्वाँ….प्’ हर्न र ‘किँ….क्’ ब्रेक एकसाथ सुनेको थिएँ, त्यस उप्रान्तमेरो इतिश्री भएछ।
घरमा कसैले थाह पाए कि पाएनन होला? अघी मोबाइल लिने प्रहरी भएको ठाऊँमा पुगें। बिचरा स्क्रिन लक खोल्ने बिफल कोशीश गर्दै रहेछ। शायद घरको नम्बर हेरेर संपर्क गर्नलाई होला। आफु बोल्न खोज्यो आवाज निस्किन्न त्यसैले हातले लक खोल्दिन्छु भनेर हात बढाउन खोजेँ। यसो हेर्छु त मेरा त हातै छैनन। निहुरिएर हेरेको त मेरा खुट्टा पनि रहेनछन, पेट पनि रहेनछ, छाती पनि रहेनछ। जतततै हेरें, आफ्ना त कुनै अंग पनि देख्दिन। अनिल कपुरको ‘मिस्टर ईन्डिया’ याद आयो, त्यस्तै इन्भिजिबल भएछु कि जस्तो लाग्यो। तर त्यो फिल्ममा त हिरो बोलेको नि सुनिन्थ्यो, गुण्डाहरुलाई किक हान्थ्यो। आफ्नो त बोल्दा पनि नट रेस्पोन्डिङ भन्छ, छूँदा पनि, यस्तो भएपछी इन्भिजिबल हुनुको के मतलब? त्यतिकैमा मेरो फोन बज्यो, प्रहरीले फोन रिसीभ गरे !
उताबाट आवाज आयो, ‘ओइ आज नि जाने हो?’ मैले बोली चिनिहालेँ, हरी रहेछ। प्रहरी यताबाट बोले, ‘हजुर को बोल्नु भएको होला?’, घोइरोले फेरी दोहोर्यायो, ‘ओइ आज नि महोत्सव जाने हो?’ अनि प्रहरीले बेलिबिस्तार लगाए, मेरो घरमा संपर्क गरी परिवारका सदस्यलाई दुर्घटनास्थलमा ल्याइदिन आग्रह गरे। बिचरा शक् भयो होला। अरु केटाहरु पनि जम्मै शक् हुन्छन होला, शायद कोही केटी हरु पनि…। बरु बुवा आमाले एक्सिडेन्ट भएको थाहा पाउनु हुने भो, डेन्जर गाली खाइने भो फेरी। ह्या मरिसकेसी के को डर? आँफैलाई ढाढस दिएँ। फेरी सोचें, म मरें भन्ने कुरा थाहा पाउनुभयो भने नि? बुवाले मलाई त्यस्तो बिभत्स हालतमा देख्नु भयो भने के होला? आमा त यो खबर सुनेरै स्योर ढल्नु हुन्छ। सोचेरै बिरक्त लाग्यो, रुन मन लाग्यो। आवाज ननिस्के पनि डाँको छोडेर रूँदै थिएँ, पछाडि कोही आएर भन्यो, ‘नरोउ’। उसले मलाई चिनेझैँ गरेर बोल्यो। मैले रूँदै भने, ‘किन नरुने? बरबाद म भएको छु। संसारले म एकजना गुमाएको छ, मैले त पुरै संसार गुमाएको छु।’ यसपाली भने मेरो आवाज गुन्जियो। म अचम्मित् भएँ। ऊ मुस्कुराऊँदै बोल्यो, ‘यो संसारको नियम हो, सबैले एकदिन यो संसार त्यागेर जानै पर्छ, कोही छिटो कोही चाँडो भन्ने मात्र हो। बिदाइमा धेरै रोयौ भने यात्रामा कस्ट हुनेछ, त्यसैले धैर्यधारण गर’। ‘यात्रा?’ म कराएँ, ‘कहाँको यात्रा? अनि तपाईं\ को?’ ऊसले मुस्कुराऊँदै भन्यो, ‘म यमदुत, तिमीलाई लिन आएको’
म त मरेपछी झट्का माथि झट्का पो खान थालें। आँफैंलाई यमदुत बताउने उतिर हेरेँ, भिमकाय शरीर भएको, अजिब लाग्ने बस्त्र लगाएको ऊ मलाई सन्त्वनाले भरिएको नजरले हेर्दै थियो। ‘जिम जानुहुन्छ र?’ भनेर सोधौं सोधौं लागेको थियो तर सोधिन। अचानक मेरो मुख बाट निस्कियो, ‘म यदी मरिसकेको छु भने म यहाँ के गर्दै छु?’ उसले बिनम्र भएर भन्यो, ‘तिम्रो मृत्यु केही क्षणअघी मात्र भएको हो, दुर्घटनापछी तिमी अचेत थियौ तर तिम्रो प्राण गैसकेको थिएन। तिम्रो बिधिवत रुपमा अन्त्यस्टी नभएसम्म तिमी यस्तै रहनेछौ। अन्त्यस्टी हुनसाथ हाम्रो यात्रा शुरु हुनेछ। त्यो बेलासम्मा तिमी फ्री छौ, अनि म तिमीलाई एउटा सुपरपावर दिन्छु, यदी तिमी अन्तिम पटक कसैलाई हेर्न चाहन्छौ भने सम्झ मात्र, तिमी उनिहरुको सामुन्ने हुनेछौ। तर म बाहेक तिमीलाई कसैले पनि देख्न, छुन या सुन्न सक्ने छैन। सिमित समय छ, जाउ आफन्तजन र साथीभाइको अन्तिम दर्शन गरेर आउ, त्यो बेलासम्म म यसो लेखनाथ महोत्सव तिर घुमेर आऊँछु। एक मन त लाग्यो सिधै घर जाऊँ, तर मेरो भन्दा बिभत्स हालत त मेरा बुवा आमाको भएको होला, मैले त्यो देखेँ भने मैले मरेपछी पनि शान्ति पाउने छैन त्यसैले घर जाने योजना त्यागें। बरु बुवाको औषधी अझै बाटोमै मिल्किएको थियो, कसैले उठाएर घर लगिदिए नि हुँदो हो। बिहानै खाइसक्नु पर्ने औषधी हो त्यो। म अत्यन्तै लाचार अनि निरिह भएँ । यमदुतलाई भन्छु भनेको ऊ पनि हिँडिसकेछ। एकछिन फेरी रोएँ। रूँदारूँदै आफुलाई माया मान्ने सबैलाई पालै
पालो सम्झिएँ।
फर्स्ट्मा हजुरबालाई सम्झिएँ, हजुरबा कोठामै पुर्पुरोमा हात लगाएर बस्नु भएको रहेछ। आँखा सुन्निएका रहेछन। हजुरआमाको त रुने तागत पनि छैन, देखेँ, बिस्तारा मै बिलौना गर्दै हुनुहुन्थ्यो। घरमा मान्छे झुम्मिएका रहेछन, स्त्री स्वरमा डाँको परसम्मै गुन्जिएको थियो, त्यसैले घर गइन। माइली फुपुलाई सम्झिएँ, देखेँ, फुपु बारीमा काम गर्दै हुनुहुँदो रहेछ, दिदिलाई त अझै थाहै रहेनछ। मामाघरकी हजुरआमालाई सम्झिएँ, देखेँ, हस्याङ फस्याङ गर्दै मेरै घरतिर हिँड्नु भएको रहेछ। घरी घरी ‘मेरो बाबु’ भन्दै बरबराऊंदै गरेको सुनेँ। मलाई दिक्दार लागेर आयो, अरु कसैलाई सम्झिन चाहिन। आफ्नै शवनेर गएँ। मेरो शवको अनुहार सेतो कपडाको टालोले छोपिएको थियो। यत्र तत्र सिसाका टुक्रा छरिएका थिए। वरीपरिका केटाहरुले मलाई ठक्कर दिने गाडी तोड्फोड गर्न भ्याइसकेछन। यसो तन्किएर हेरेको त राजामार्गनै ठप्प पारिसकेछन्। तीन किलोमिटर परसम्म जाम छ रे। एक ट्रक दंगा प्रहरी लठ्ठी लिएर ट्रकमै उभीइरहेका छन। हेर्दा हेर्दै अर्को एक हुल केटाहरु ठुलठुला काठका मुडा बोकेर आए, मेरो शब नेर राखे। बेबकुफहरुले मलाई यहीँ जलाउन लाए कि भनेर
डराएको त धन्न रहेनछ। सडक अझै अबरुद्ध पार्न रहेछ। मैले कुनैलाई चिनिन, तर मेरो मृत्युको बिरोधमा आन्दोलन नै जस्तो भएको देख्दा मर्दा मर्दै ठुलै मान्छे भएर मरेछु कि झैं लाग्यो। आफु त बन्द बिरोधी मान्छे, आफ्नै मृत्युमा बन्द भएको टुलुटुलु हेरेर बस्नु पर्यो। ‘मर्नेका बा आमा अचेत भएर ढलेका छन रे’ एकजनाले भिडमा कुरा गरेको सुनें। मेरो मन पोलेर आयो। ओहो, बरु मृत्युबरण गर्न सजिलो रहेछ, मृत्युपछी को तनाव सहन पो कठिन हुने रहेछ। मेरो अन्त्यस्टी छिटो गरिदिएर मलाई मुक्ति दिए हुन्थ्यो।
साथीभाइ हरुलाई सम्झिएँ, धेरै जसो आइपुगेका रहेछन। सबै निन्याउरो मुख बनाएर बसेका। नजिकै गएर ‘ओइ’ भनेँ, कसैले सुनेनन। ‘ओइ हिँड जाऊं घुम्न’ भन्ने मेरा दिन नि आजबाट सकिए। टाउकेको पसलमा दाँत फालेर बस्ने दिन पनि गए। फ्री वाइफाइ चलाऊने दिन पनि गए। ओहो बरु मेरो मोबाइल त्यो पुलिसले फिर्ता पो गर्छ कि गर्दैन यार? टेन्सन पो भयो त। दिएन भने त साले लाई यमदुत सँग सुपर पावर मागेर नि तर्साऊँछु । घरतिरका बुढाखाडा भद्र भलाद्मी हरु आइपुगेछन। बल्ल यिनले मेरो पार लगाउने भए भनेर आश पलायो। यसो कुरा सुन्न गएँ, बुढा हरु त पैसाको कुरा पो निकाल्न थाले। मरेको म छु, बुवा आमा मेरा अचेत छन, यता यिनलाई भने पैसाको चिन्ता? प्रहरिले पनि मान्छे बोलाए, दुइपक्ष उठिउठी वार्ता गर्न थाले। मेरो शव अझै त्यहीँ मिल्केको छ, भुन भुन माखा भन्किन थालेका छन। वास्ता छैन कसैलाई। केहीबेर पछी १० लाखमा मेरो डिल फाइनल भएछ, लाश उठाउने निर्णय भयो। एउटा तन्ना जस्तोमा गुटुमुटाएर मलाई एउटा ट्र्याक्टरको ट्रेलर मा राखे। ट्र्याक्टर भन्ने चिज मलाई कहिल्यै मन परेन, आखिर ज्यान पनि ट्र्याक्टर कै ट्रेलरले गर्दा गयो, अहिले मेरो शव पनि ट्र्याक्टरले नै उफार्दै लैजाँदै छ। मलाई सिधै पश्चिमाञ्चल क्षेत्रिय अस्पातल को पोस्ट्मार्टम शाखामा पुर्याए।
एउटा ट्रलीमा हालेर पोस्ट्मार्टम गर्ने कक्ष भित्र के छिराएका थिए, धन्नै बान्ता आउला जस्तो भएर आयो। कहिले देखी सडेका दुइटा लाश रहेछन। दुइटैको निधारमा सिलाएको। एउटा सानो केटोको लाश थियो, कुपोषण लागेर मरे जस्तो। अर्को बडेमाको जिउ भएको मान्छेको लाश थियो, ठयाक्कै अघीको यमदुत जस्तो। के भएर मरेका होलान, त्यो मास्क लगाएको स्विपरसँग सोधौं सोधौं लागेको थियो, तर सोधिन। हेर्दा त स्विपर जस्तो थियो, चक्कु छुरा लिएर मेरो नजिक पो आयो, म त डाक्टरले पोस्ट्मार्टम गर्लान भन्ठानेको त उही तयार भयो। मलाई त त्यस्को भरै लागेन, अब मरी त हालियो, जे सुकै गरोस, म बाहिर निस्कें। देखेँ, मेरा प्यारा मलामी हरु मलाई कुरेर बसेका रहेछन। सबैलाई एकपटक ‘गएँ है’ भन्न मन लाग्यो, तर के गर्नु, बोलेको सुनिन्न। केहीबेर पछी सेतो कपडाले बेरेर मलाई बाहिर निकाले।कागजपत्र लिन एकजना मसँग हिँड्नुस्, कागजपत्र पाएपछी मात्र शव उठाउनु होला’ भन्दै मलाई त्यहीँ छोडेर अघिको स्विपर जस्तो गयो, पछी पछी भान्दाइ जानुभयो। यतापट्टी त मैले यादै नगरेको रहेछु, कात्रो, हरियो बाँस, जम्मै तम्तयार रहेछन। त्यसोभए उता घाटमा पनि दाउरा, टायर ठीक्क पारेर राखेका होलान। दाउरा त ठिकै हो, टायरले नजलाए हुन्थ्यो मलाई। भान्दाइ कागजपत्र लिएर आउनुभयो। अब म अफिसियल्ली मरेँ। मेरो नागरिकता आजको दिनबाट रद्ध भयो। मेरो श्रिसम्पती, सेयर, बैंक ब्यालेन्स, ऋण जम्मै मेरा हकवालाको नाममा गए। मसँग अब केही छैन। मरेपछी आफ्नै जिउ समेत त छोडेर जानुपर्ने रहेछ, मान्छे हरु त्यसै कन्जुस्याँइ गर्छन्।
मलाई हरियो बाँसमा राखे, कात्रो ओडाए, बोके, रामघाट लगे, चिता माथि सुताए, सबैजनाले पालैपालो सेती को जल चढाए। पन्डित मन्त्र उच्चारण गर्दै थिए, एकजानाले मेरो शरीरतिर मट्टितेल छर्किए। भर्खर त्यत्रो बसले किचेर मरियो, फेरी पोस्ट्मार्टम गर्ने ठाऊँमा चार ठाऊँमा चिरे, अब आँफैलाई जलाएको पनि के हेर्नु? म मलामी गन्न तिर लागें। ‘अनी, के छ खबर?’ पछाडिबाट कोही बोलेको सुनें, हेरेको यमदुत रहेछ। अब यसैसँग कुरा गरेर टाइम किल गर्न पर्यो भनेर उसँग कुरा गर्न थालें, ‘कस्तो लाग्यो त महोत्सव?’ उसले भन्यो, ‘रमाईलै हो, जानेबित्तिकै एक पाउ खुवा खाइदिएँ अनी पालैपालो जम्मै पिङ खेल्देको त चक्कर लागिरहेको छ। जेहोस्प हिलेकोमा भन्दा यो पाली मान्छे कम रहेछन’ उसले ‘पहिलेकोमा’ भनेको सुनेर अचम्म लाग्यो अनी सोधें, ‘तपाईं लेखनाथकै हो र? मरेर गएर यमदुत बन्नुभएको हो?’ ऊ हाँस्यो, ‘हाहाहा होइन, तर हामीलाई आइराख्नु पर्छ, जब हाम्रो सिक्स्थ सेन्सले अबको १० सेकेन्डमा यहाँ दुर्घटना हुन्छ भन्छ, हामी त्यहाँ पुगिहाल्छौं।’ म छक्क परें अनी सोधें, ‘आँइ होर? अनी मलाई पहिला देख्नुभएको थियो कहिल्यै?’ उसले भन्यो, ‘तिम्रो गाडी, बाइक हँकाइले मैले कैयौं पटक दु:ख पाएको छु। दुर्घटना हुन्छ भनेर आयो, कसो कसो धानिन्थ्यौ अनी खाली हात फर्कनु पर्थ्यो। तिमी जहिले जहिले बाल बाल बाँचेर ‘धन्नै मरेको’ भनेका थियौ, तहिले तहिले म तिम्रो सामु
थिएँ।’ ए… काल त पहिल्यै पल्केको रहेछ र पो। मैले फेरी सोधें, ‘म मर्दा मर्दै बाँचेको रेकर्ड छ उसोभए?’ उसले भन्यो, ‘अँ कति हो कति। याद छ एकपटक तिमी अमरसिँह चोकमा कुकुरसँग ठोकिएर डेन्जर पछारिएको थियौ नि? हो त्यो दिन तिमी उताबाट आएको गाडी ले किचेर मर्नपर्ने थियो तर तिम्रो भाग्य बलियो रहेछ, त्यही समय ड्राइभरको फोन आयो र ऊ रोकियो अनी तिमी बाँच्यौ। एकपटक छम्मा लिएर बाइकमा शान देखाऊँदै स्टन्ट देखाऊँदै थियौ, त्यो दिन डिभाइडरमा ठोक्किएर मर्ने दिन थियो तिम्रो, तर बाटोमा पोखिएको बालुवाले बचाएको हो तिमीलाई। राती राती खुब हिँड्थ्यौ, तिमीले त थाह नि पाएनौ तर दुई पटक सम्म बाघ
तिम्रो ५ मिटर नजिक आइसकेर पनि तिमीलाई खान सकेन। सर्पका ठुङाइ त जाबा कति हो कति मिस गए।
बिजयपुर खोला ले धन्नै खाइसकेको थियो तिमीलाई। तिमी त धेरै पटक मर्दा मर्दै बाँचेका हौ। म त तिमीलाई यत्रो सानो हुँदा देखी चिनेको।’ यस्तो सुनेपछी मेरो मनमा लोभ जाग्यो, ब्ल्याक्मेल गर्न मन लाग्यो र भनेँ, ‘मलाई सानै देखी चिन्नु हुँदो रहेछ, देख्नु भयो होला मैले केही राम्रो काम गर्न नसके पनि नराम्रो काम पनि केही गरिन, अझै कति बाँचूँला भन्ने थियो। तपाईंले यसो ज्याक लगाएर मलाई फेरी ज्युँदो बनाइदिन मिल्दैन?’ ऊ फेरी हाँस्यो, ‘हाहाहा म यमदुत हूँ, सृष्टिकर्ता होइन। मलाई इमोसनल बनाउने ब्यर्थ प्रयास नगर बाबु,
हामी यमदुत हरुको फिलिङ्स हुने पार्ट नै डिएक्टिभेट हुन्छ। अब छोडिदेउ यस्ता कुरा, अब लगभग तिमी जलिसकेउ, तिम्रो अस्तु सेतीगंगामा बिसाउने बित्तिकै हाम्रो यात्रा शुरु हुन्छ। टेन्सन नलिउ, तिम्रै एजका धेरै छन माथि तिर पनि, मान्छे त हेन्समनै रहेछौ, यहाँ केही लछारपाटो लगाउन नसके पनि उता चान्स छ।’ मैले उसलाई सोधें, ‘कती टाइम लाग्छ नि पुग्न?’ उसले भन्यो, ‘प्रोसेस लामो छ, आजको तेर्हौ दिनमा तिम्रो घरमा अम्केपछी हामी यमलोक इन्टर हुन्छौं। अनी सुन, यात्रामा धेरै बाधा बिघ्न आउन सक्छन, नुनिलो बर्षा हुन्छ, जुन आँशुको हुनेछ, त्यो तिमीले आजसम्म कतिलाई रुवायौ, त्यही अनुसार घना या थोरै हुनेछ। त्यसरी नै आगोको कोइलै कोइला हिँड्नु पर्ने पनि हुन्छ, त्यो तिमीप्रती अरुको मनमा भएको रिस अनी आक्रोशको प्रतिफल हुनेछ। तिमीलाई माया गर्नेहरुले आकाशबाट तिमीलाई बोलाइरहेको देख्ने छौ। तर जेसुकै भए पनि यात्रा निरन्तर राख्नु पर्छ, यदि तिमी रोकियौ भने तिमी स्वयम् लाई नै अर्को अनिस्ट पर्न सक्छ।’ मलाई उसको कुराले डर लागेर आयो। उसले भन्यो, ‘हेर तिम्रा अस्तु बगाए, तिम्रो अन्त्यस्टी सम्पन्न भो।
अब प्रस्थान गरौं। तिम्रो धर्ती, तिम्रो परिवार अनी सबैलाई अन्तिमपटक अलबिदा भन’ मैले उसलाई रोकें, ‘एउटा अन्तिम प्रश्न’ उसले भन्यो ‘सोध’, मैले भनेँ, ‘म आज नमरेको भए म्याक्सिमम कति बर्षसम्म बाच्थेँ होला?’ उसले एक्छिन टोलाएर भन्यो, ‘तिम्रो आज खड्गो थियो, यस्ता खड्गो त अझै धेरै थिए तिम्रो लाइफ मा, तर सबै टरेर बाँचेको भए तिमी ७२ बर्षको उमेर सम्म बाँच्ने थियौ।’ म केही भावुक भएँ, केही बिनम्रता मिसाएँ अनी बोलेँ, मेरो एउटा अन्तिम इच्छा पुरा गरिदिनु हुन्छ?’ उसले भन्यो, ‘प्रयास गर्नेछु, पहिले भन’। मैले भनेँ, ‘मेरो बाँकी रहेको उमेर मेरा बुवा आमालाई बराबर बाँढिदिन सक्नु हुन्छ?’ ऊ मुस्कुराऊँदै भन्यो, ‘म कोशीश गर्ने छु’.
