एकाबिहानै रेडियोमा सुनें , केहिबेरमा अनलाईनहरु तिर पनि पढें ,"मलेशियामा मासिक १ लाख कमाइ" साह्रै खुशी लाग्यो हाम्रै नेपाली दाजुभाइ पनि मलेशियामा यती बिघ्न कमाँउदा रहेछन् , अनि आँखामा नाच्यो मासिक २०/२५ हजारको लागी पसिनामा निथ्रुक्क भएर गधा झैं जोतीने दाजुभाइको टिठ लाग्दो अनुहार्, दुइ शब्द नकोरी मनैले मानेन ।बेरोजगारीको पिडाले भौंतारिएको नेपाली युवा पुस्ता को प्रमुख गन्तव्य मलेशिया बनेको छ । यसमा कुनै दुविधा छैन । बेरिजगारिको भुमरिमा रुमलिएका बेला साथिभाइले पठाएका नोटका बिटा र राष्टृय मिडियामा आएका यस्ता समाचारले नेपाली युवालाई मलेशिया नामको काल कोठरिमा धकेल्न प्रेरित गरिरहेको छ ।
वैध र अवैध गरी ७ लाख भन्दा नेपाली युवाको पसिना अनि रगत बग्ने यस मलेशियामा औंलामा अटाउने केहिको तलब स्केललाइ आधार बनाएर खाडिमा भन्दा बढी तलब र सुबिधा पाइने भनेर भ्रम छरिएको छ । ७ लाख भन्दा बढी कामदारको अवस्थालाई छाँयामा पारेर २/४ जना को उदाहरण दिइ " मलेशियामा नेपाली लाई अवसर नै अवसर " भनेर प्रचार गरिनु कत्तिको न्यायपुर्ण कार्य हो ?
यहाँ दैनिक लुटिने, कुटिने ,ठगिने र मारिने नेपाली युवाको समाचार राष्ट्रीय मिडियामा अटाउँदैन । नेपाल बाट आउँदा आउँदै बिना कसुर अध्यागमनमा पुलिसको बुट खाने , मलेशिया को जङ्गल मा महिनौं भोको पेट भौंतारिने,बाटोमा लुटिने कुटिने , कार्यक्षेत्रमा श्रम शोषणमा परेका नेपाली कामदार प्रती कसैको नजर जाँदैन, तर विडम्वना थोरै लागतमा राम्रो पारिश्रमिक पाइने देश भनेर प्रचार गरिन्छ ।
मलेशिया आँउदा लाग्ने लागत सरकारले तोकिदिएको छ । तर त्यसको दुइ गुणा ,तीन गुणा निर्बाध रुपमा कामदार सँग असुलिरहेछन् काठमाडौं का मानव दलालहरुले , त्यसको विरुद्ध बोलिदिने कोही छैन , लाग्छ बोल्नु पर्ने मान्छे सबैका मुख तिनै कामदारले तिरेको नोटका बिटाले टालिएका छन् । यदी टालिएको छैन भने किन तै चुप मै चुप ? खुलेआम ठगी धन्दा चलिरहदाँ कता निदाइरहेछन सरकारी निकाय ?
मलेशिया आएका केहि सिमित कामदार बाहेक अधिकांस कुनै न कुनै रुपमा प्रताडित छन । सम्झौता मा भन्दा बिल्कुल भिन्न तलब्, बासस्थान्, सेवा सुविधा र कार्यक्षेत्रमा हुने थिचोमिचो, भेदभाव , असुरक्षा जस्ता विभिन्न कारण ले अवैध भएर काम गर्ने को संख्या दिनहुँ बढ्दो छ ।
अझ कुटिनु लुटिनु को त कुरै नगरौं ,यो त अति सामान्य दैनिकी जस्तै बनेको छ यहाँ । महिना भरी रगत पसिना बगाएर कमाएको धन घर पठाउन रेमिट्यान्स कम्पनी सम्म पुग्न मोजा वा गुप्ताङ्ग भित्र लुकाएर हिड्नु पर्ने देश हो यो ।
माथी लेखिएका सम्पुर्ण कुरा मेरा आफ्नै भोगाइ हुन् , २ वर्ष मलेशिया बसाइको । म संगै ५०० जना भन्दा बढी दाजुभाइ काम गर्छन र २००० भन्दा बढी नेपाली कामदार संग म प्रतक्ष्य सम्पर्क मा छु । सबै का भावना एउटै छन् । विदेशी कामदारको रगत र पसिना को कुनै मुल्य छैन यहाँ,संगै एउटै काम काम गर्ने ले २५००/३००० थाप्दा हामी निन्याउरो अनुहार लाएर मासिक ९०० थाप्छौ ,चुपचाप त्यसैले नेपाली कामदार असल भएको प्रचार गरिन्छ ,अझ रुचाइन्छ पनि अरे !!
मानव शरिरबाट बग्ने पसिना को मुल्यको अन्तर बारे लेखिदिने ,बोलिदिने कोही छैनन् । तर वास्तविकता भन्दा धेरै पर ग ई युरोप जस्तै धेरै कमाइ हुने भ्रामक प्रचार गरेर नेपाली युवा लाई खाडल मा जाक्ने काम हुँदै छ ।
यस्ता औंला भरिका सफल तालाई उदाहरण दिएर युवालाई लाखका सपना देखाइ विदेशिन उत्प्रेरित गर्नु भन्दा आफ्नै माटो मा सुन फलाउने बाटो देखाउनु मिडिया को जिम्मेवारी होइन र ?