विदेशबाट आउने नेपालीहरुको हातहातमा एलइडी टिभी र मोबाईल हुने गरेको छ। रोजगारीको शिलसिलामा विदेश गई स्वदेश फर्किने अधिकांशले एलइडी टिभी र स्मार्टफोन ल्याउने गरेको पाइन्छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवतरण भएका उनीहरुले विदेशबाट ल्याउँदा सस्तो हुने भएकोले टिभी ल्याउने गरेको बताउँछन्। ३२ इन्चसम्मको टिभी ल्याउँदा भन्सार शुल्क नलाग्ने नियम भएकोले प्रायले सो सुविधाको उपयोग गर्नेगरी मध्यम आकारको टिभी ल्याउने गरेका हुन्।
घर फर्किँदा गतिलो ‘नासो’ हुने भएकोले पनि टिभी ल्याएको बताउँछन् मलेसियाबाट फर्किएका मोहत्तरीका लाल मण्डले। पाँच वर्ष मलेसिया बसेर फर्किएका उनी विदेशको चिनो पनि हुने र घरको लागि पछिसम्म प्रयोगमा पनि आउने भएकोले आफूले टिभी ल्याएको बताए। लामो समय विदेशमा काम गर्दा जति नै दुःख पाए पनि घरमा भएका परिवारले के ल्यायो भनेर अपेक्षा गर्ने हुँदा उनीहरुले पाउनेजति स्मार्ट फोन पनि ल्याउने गरेका छन्। आफन्तहरुलाई उपहार पनि हुने, ल्याउँदा धेरै महँगो पनि नहुने भएकाले स्मार्टफोन ल्याएको हुँ’ दुई वर्ष मलेसिया बसेर तीन महिनाको लागि विदामा घर आएका धादिङका राजकुमार श्रेष्ठले भने।
कतिपय बाहिरी देशमा नेपालमाभन्दा सस्तो स्मार्टफोन पाइन्छ। सामान्यतः मध्यम स्तरका स्मार्टफोनमा दुई हजार देखि १० हजार रुपैयाँसम्म सस्तो पाइने श्रेष्ठले बताए। नेपालको भन्सार नियमअनुसार विदेशबाट आउनेले प्रयोग गरिरहेको फोन बाहेक एउटामात्र फोन ल्याउन पाइन्छ। तर विदेशबाट आउनेहरुले तोकिएको भन्दा पनि बढी फोनहरु ल्याउने गरेका छन्। त्यसमा भन्सारले कुनै पनि कडाई नगरेको फर्किएका युवाहरु बताउँछन्। समाचारमा पढेअनुसार मैले एउटा मात्र फोन ल्याएँ’ विमानस्थलमा भेटिएका अर्का एक युवाले भने, ‘तर यहाँ ५/६ वटा फोन ल्याउनेलाई पनि छानविन नभएको पाइयो।’ नेपालबाट प्रतिदिन औसत १२ सय नेपालीहरु विदेश जान्छन् तर चाडवाडको समयमा भने थोरै मात्रै विदेशिन्छन्। यो समयमा आउने नेपालीहरु भने दैनिक करिब ३ हजारको हाराहारीमा हुने अध्यगमनका अधिकारीहरुले जानकारी दिएका छन्। घरभन्दा टाढा गएपछि केही न केही नासो ल्याउने नेपालीहरुको पुरानो परम्परा भएकोले पनि विदेसिएका अधिकांशको हातमा टिभी र स्मार्टफोन हुने गरेको अनुभव सुनाउँछन् त्रिभुवन विमानस्थल परिसरमा ट्याक्सी चलाउँदै आएका विरमान लामा।
प्रायः कोही पनि खाली हात आउँदैनन्’ उनले भने, ‘टिभी, ठूला सुटकेस तथा झिटीगुन्टा ल्याउने क्रम अहिले धेरै बढेको छ।’ भीडभाडले विमानस्थल अव्यवस्थित भएपनि भन्सार र अध्यागमनका अधिकारीहरुले आफूहरुलाई धेरै दुःख नदिएको भित्रिएका युवाहरु बताउँछन्। धेरै नेपालीहरु आउने भएकोले आफूले अध्यगमन र भन्सारमा सास्ती भोग्नु नपरेको दुबईबाट आएका सल्यानका खुमबहादुर बस्नेतले बताए।
