चाबहिल बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमान्स्थल तर्फ आउँदै गर्दा तिलगंगा को वाग्मती पुल माथि आइपुगेपछी पशुपती नाथको मन्दिर तर्फ हेर्दै छाती र निधारमा हात तल माथी गरेर कामना गरेथेँ मैले आफ्नो यात्राको सफलता अनि आफ्ना सम्पूर्ण सपनाहरु साकार होस भन्द्दै । म मात्र कहाँ हो र म जस्तै गरिवी र बेरोजगारी को भुमरिमा रुमल्लिएका सयौं नेपाली मन हरु त्यसरि नै कुदिरहेका थिए, त्यो बाग्मती को पुल माथी । आफ्नो घर परिवार अनि आफ्नो माटोको मायालाई पोको पारेर मुटुको कुनै अन्तरकुन्तर मा सुरक्षित राखी विरानो मुलुक अनि विरानो परिवेश को सामना गर्न लम्कदैँ थियौ हामी आफ्नो सपना साकार पर्ने उद्देश्य बोकेर र त्यो क्रम रोकिएको छैन बरु दिनानुदिन बढ्दो छ ।
विदेशिनुलाई ठुलो उपलब्धी मान्छौ हामी । नेपालमा रहुन्जेल विदेश जाने र पैसा कमाउने भुत सवार हुन्छ । चाँडो पासपोर्ट बनाएर चाँडो विदेश उड्ने सपना बोकी राती देखिनै पासपोर्ट बनाउने ठाउँमा लाईन बस्ने को संख्या गनेर सकिदैन । अझ विदेश उड्ने हतारो ले उमेर बढाएर पासपोर्ट बनाउन आवेदन दिनेको पनि कमी छैन । विदेशमा सजिलै पैसा टिप्ने आसमा मेनपावर कम्पनी को ढोकामा अन्तर्वाता दिन तछाडमछाड गरिन्छ । एकपटक विदेशिन पाए आफ्नो सम्पूर्ण दु:ख पिडा अन्त्य हुने र आफ्नो जीवनको कायापलट हुने धारणा राखिन्छ । आफ्नै माटोमा पसिना बगाउन भन्दा विदेश को कमाइ लाई प्राथमिकता दिइन्छ ।
तर आर्काको भुमिमा संघर्ष गर्न कती गार्हो हुन्छ विदेश ओर्लेपछी मात्र थाहा हुन्छ ।आफ्नो आत्मासम्मान बेचेर साथिभाइ इष्टमित्र अनि परिवारको काखबाट टाढा भएर अर्काको रुखो बोली बचन , व्यवहार सहेर असारे गोरु झैं १२/ १५ घन्टा सम्म पसिनाले निथ्रुक्क भएर विदेशी जीवन जिउन कती गार्हो हुन्छ भन्ने कुरा विदेशिएपछी मात्र बोध हुन्छ । हुन त हामी विदेशिने को मात्र दोष पनि देख्दिन म । अनेकौं राजनैतिक कारणले मुलुकको अवस्था जर्जर छ । राजनिती नामको फोहोरी खेल को कारण मुलुकको अवस्था दिनानुदिन बिग्रदो छ । पटक पटक भएका राजनैतिक परिवर्तन ले जुन सुकै तन्त्र ल्याए पनि हामी जनाताले परिवर्तन को महशुस गर्न पाएका छैनउं । झन हामी शोषित पिडित जनाताको मुक्ती को लागी भनेर १२ वर्ष सम्म भएको द्द्न्द ले मुलुकलाई दशकौं पछाडी धकेलेको छ । शिक्षा को गुणस्तर छैन । उच्च शिक्षा हासिल गरेका कयौं नेपाली युवा विदेशी भुमिमा निम्न स्तरको काम गर्न बाध्य छन । हामी युवालाई व्यवहारिक शिक्षा दिनु भन्दा पासपोर्ट थमाएर विदेश धपाइ रेमिट्यान्स बढाउन सरकार जोड गर्छ । मुलुकको अर्थतन्त्र हामिले पठाएको रेमिट्यान्स को भरमा अडिएको वषौं भैसक्यो ।
अर्काको भुमिमा श्रम बेचेर कोही पनि धनी हुन सक्दैन भन्ने जान्दाजान्दै पनि हामी यो दलदल मा फसेका छौ । विदेशमा अनेकौं दु:ख कष्ट पाउनेको कमी छैन । आउँदा सिंगो शरिर बोकेर आएका कती युवा अपांग भएर फर्किएका छन । अझ मेशिनमा च्यापिएर , लुटेराको आक्र्मण मा परेर , समयमा औषधोपचार नपाएर र अनेकौ कारणले विरानो भुमिमै ज्यान गुमाउने को संख्या दिनदिनै बढदो छ ।
आफ्नो अनि परिवारको सुनौलो भविष्य को सपना बोकी विदेशिने का आफन्त हरु काठमाडौं को विमानस्थल मा आफ्नो प्रियजन को लास लाई अंगालो हाल्दै रोइकराइ विलौना गरेका दृश्य हरु अति सामन्य भैसकेका छन ।
विदेशिएका कामदारको हक अधिकार अनि सुरक्षा को मामलामा सरकार मौन छ । आफ्नै अगाडी आफ्ना नागरिक को विचल्ली हुँदा तै चुप मै चुप छन सरकारी अधिकारी अनि राजनैतिक दलका नेता हरु । लाग्छ हाम्रो जीवन को कुनै मुल्य छैन । कुनै निर्जिव वस्तु झै छौ हामी , जुन काम नलाग्ने भए तेसलाई फालेर अर्को ल्याइन्छ । अझ साँचो भन्नु पर्दा हाम्रो लास संग पैसा सटिरहेछ सरकार !!